काठमाडौं, 27 मई 2022
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रमको छलफलका क्रममा उहाँले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहने गरेकाले त्यसलाई मजबुत बनाएर लागिपर्न आग्रह गर्नुभयो । मानव सूचकाङ्कका आधारमा नीति तथा कार्यक्रम ल्याएको भन्दै उहाँले जनसङ्ख्याका आधारमा पनि मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, जलविद्युत् उद्योगलगायतका विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो । पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक भएकाले नेपाली युवालाई सीपयुक्त बनाउन दूरदृष्टि राख्नुपर्ने उहाको भनाई छ । उहाले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएकाले अब त्यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिन सुझाव दिनुभयो । उहाँले लामो अध्ययनपछि अगाडि बढाइएको निजगढ विमानस्थल अगाडि बढाइएको भए पनि त्यसलाई रोकिएको प्रति असन्तुष्ट व्यक्त गर्नुभयो । त्यस्तै एमाले सांसद ईश्वर पोखरेलले सरकारले तटस्थ परराष्ट्र नीति सञ्चालन गर्न नसकेको आरोप लगाउनुभयो । अघिल्लो सरकारको नीति तथा कार्यक्रमलाई समेत वर्तमान सरकारले समेटेको उहाँको भनाइ छ । कांग्रेसका सांसद डा मिनेन्द्रप्रसाद रिजालले एमालेले अहिले आएर हार स्वीकार गर्न नसकेर गलत प्रचार गरेको उल्लेख गर्दै लोकप्रिय मतका आधारमा पनि कांग्रेस माथि नै रहेको बताउनुभयो । उहाले वर्तमान सरकारले राखेका कार्यक्रम निकै उत्कृष्ट रहको उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद ओनसरी घर्तीले सरकारको नीति तथा कार्यक्रमले आधारभूत रुपमा सही मार्ग दोहोर्याएको उल्लेख गर्दै मुलुकको आर्थिक समस्याको समाधान, गरिबी निवारणमा ध्यान दिइनु, कृषि तथा उद्योग क्षेत्रमा प्राथमिकता दिनु सकारात्मक रहेको बताउनुभयो । उहाँले महिलालाई समूहमा काम गर्ने गरी कार्यक्रम तय गर्न, कर्जाको सीमा बढाउन, महिलाले उत्पादन गरेको सामानको बजारीकरणका लागि कार्यक्रम बनाउनसमेत आग्रह गर्नुभयो ।









































