काठमाण्डौँ, 31 जनवरी 2020
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)-ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको ठहर गरेको हो। देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने अशा गरिएपनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ। पूर्वाधार विकासका क्षेत्रमा केही कामहरु भएपनि लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनिकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको थापाले बताउनुभयो। थापाले राजसंस्था पाखा लगाएर सुरु गरिएको 14 वर्षको राजनीतिक अभ्यासले देश झन संकटग्रस्त भएको बताउनुभएको छ।
व्यापारी, कर्मचारी, राजनीतिक नेताहरुले गठबन्धन नै बनाएर देशमा भ्रष्टाचारको संजाल बनेको उहाँले बताउनुभयो। तलदेखि माथिसम्म हुने सेटिङको दवाव र प्रभावले आर्थिक स्वार्थ पुरा गर्न कानूनी बाधा भए कानून नै परिवर्तन गर्ने र भ्रष्टाचारको कारवाही छल्न नीतिगत निर्णयको बाहनामा सार्वजनिक खरिद बिक्रीका विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर लुट प्रवृति हावी भएको उहाँले बताउनुभयो।
राप्रपाले देशमा इशाईकरण डरलाग्दो रुपमा बढेको बताएको छ। अपरिपक्व, दिशाहिन र गलत आर्थिक नीतिका कारण देशमा स्वदेशी र विदेशी लगानी भित्रिन नसकेको, सञ्चार माध्यम र सामाजिक संजाललाई नियन्त्रण गरी सर्वसत्तावादको संकेत देखिएको थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ। चुनाव जित्न, सत्तामा पुग्न र टिकीरहन विदेशी शक्तिहरुको प्रभाव र हस्तक्षेप बढेको र राजनीतिक दलहरुमा वैचारिक विचलन देखिएको राप्रपाले जनाएको छ। समान विचारधारा मिल्ने दलहरुसँग एकता र सहकार्यको बाटो खुला रहेको जनाउँदै राप्रपाले समाज, राजनीति र व्यवस्था बदल्ने संकल्पसहित निरन्तर अगाढी बढ्ने बताएको छ। आगामी महाधिवेशनबाट पार्टीम महत्वपूर्ण परिवर्तन हुने संकेत पनि उक्त पार्टीले गरेको छ। राप्रपाले हिन्दुराष्ट्र पुर्नस्थापना भ्रष्टाचार नियन्त्रण लगायतका माग राखेर देशव्यापी जनसंघर्ष सुरु गर्ने पनि जनाएको छ। शुक्रबार र शनिबार दुई दिन चल्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तयारी, सचिवालयको प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्यक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ।









































