काठमाण्डौँ, 15 मई 2020
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा सचिवालय सदस्यहरुको सुझाव मागेपछि आज बैठक बसेको थियो। बैठकमा सदस्यहरुले सरकारले ल्याउने नीति कार्यक्रमका बारेमा महत्वपूर्ण सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो। यद्यपी के सुझाव दिए भन्ने उहाँले केही खुलाउनु भएन। सचिवालयमा स्थायी कमिटी बैठकका विषयमा नीति तथा कार्यक्रमपछि छलफल गर्ने समझदारी पनि भएको छ। यसअघि दुई पटक स्थगित भएको स्थायी कमिटी बैठक बोलाउने विषयमा नीति तथा कार्यक्रमपछि अध्यक्षद्वय र सचिवालय बैठकमा छलफल भएपछि बैठकका विषयमा टुंगो लाग्ने उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो ‘आजको सचिवालयको बैठकमा पार्टीका अध्यक्ष एवै सम्माननिय प्रधानमन्त्री ज्यूले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझावहरु छन भने अझैपनि दिन हुनको लागि सचिवालय बैठकलाई अनुरोध गर्नुभयो र त्यसका बारेमा केही विषयहरुमा महत्वपूर्ण सुझावहरु पनि सचिवालयको तर्फबाट दिने काम भएको छ। पार्टीको स्थायी कमिटी बैठकका बारेमा आज कुनै टुंगो भएको छैन्। नीति तथा कार्यक्रमपछि त्यसबारेमा नेतृत्वबीचमा र सचिवालयको बैठकमा छलफल होला।’’
नेकपा स्थायी कमिटी बैठक यसअघि दुई पटक बोलाएर स्थगित भएको थियो।









































