काठमाडौं, 26 अक्टोबर 2023
भारतको प्रसिद्ध पतंञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन् । बिहीवार बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले भने “नेपालका कुनैपनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुइ देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ ।”
नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र वाल्मीकिको भूमि भएको उल्लेख गर्दै उनले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्न सुझाव दिए । उत्तर प्रदेशसँग जोडिएको रुपन्देहीमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए ।
‘उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाञ्चल प्रदेश जानुपर्ने अवस्था छ, त्यहां पुग्नभन्दा बुटवल आउन धेरै नजिक छ,’ उनले भने । भैरहवाको गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भएकाले त्यसमा ध्यान दिन सुझाए ।
नेपाल र भारतबीचको सांस्कृतिक विरासत साझा र अक्षुण रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने उनले बताए । ४० वर्षपछि पहिलोपटक गृह जिल्ला स्याङजामा दशैं पर्व मनाउने अवसर मिलेको र सोही क्रममा कामाख्या देवी मन्दिर दर्शन गर्न पाउँदा खुशी लागेको आचार्य बालकृष्णले बताए ।









































