काठमाडौं, 9 अगस्त, 2021
ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको कोभिशिल्डको दोस्रो मात्रा डोज लगाउन सुरु गरिएको छ ।सोमबारबाट सरकारले कोभिड शिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो । कोरोनाविरुद्धको खोप लगाउन पुग्नुभएकी समाजसेवी भद्रकुमारी घलेले सरकारले बोलाइ–बोलाइ कोरोनाविरुद्धको खोप लगाउने अवसर प्रदान गरेकोमा आशिर्वाद दिनुपर्ने बताउनुभयो ।त्यसैगरी कोरोनाविरुद्धको खोप लगाउन पुग्नुभएका हरिकृष्ण पन्तले वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप दिने व्यवस्था एकदमै राम्रो भएको बताउनुभयो । उहाँले ढिलै भएपनि दोस्रो मात्राको खोप लगाउन पाएकोमा खुशी प्रकट गर्नुभयो ।काठमाडौं जिल्लाका १४४ खोप केन्द्रमार्फत् कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।









































