काठमाण्डौ, 2 जुन 2020
मंगलबार नेपालमा थप २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २ हजार नाघेको छ । मंगलबार २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १० र धरानमा भएको परीक्षणमा १ जनाको पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा २० जना, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ देखिएको छ । दैलेखमा ३७ जनाको पोजेटिभ आएको छ । यस्तै हेटौडामा १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अस्पतालमा १८ जनाको पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणमा टेकुमा १ सय १८ जनाको पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताउनुभयो । आजसम्म पीसीआर विधिबाट ७५ अजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको छ ।
यस्तै अहिले देशका विभिन्न क्वारेन्टाइनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । अहिलेसम्म २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।









































