काठमाण्डौँ, 9 मे 2020
नेपालमा कोरोना संक्रमण देखिएका 109 जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर 1 मा रहेका छन्। शनिबारसम्म संक्रमितको संख्या 109 पुग्दा प्रदेश नम्बर 1 मा 34 जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश नम्बर 2 मा 31 र प्रदेश नम्बर 5 मा 30 जनामा संक्रमण देखिएको छ। बागमती प्रदेशमा 7, सुदूरपश्चिम प्रदेशमा 5 र गण्डकी प्रदेशमा 2 जनामा संक्रमण देखिएको छ। अहिलेसम्म 31 जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। हिजोमात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला 35 दिनपछि डिस्चार्ज भएकी छन्। प्रदेश नम्बर 1 र प्रदेश नम्बर 5 का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तीव्र पारेको छ।
पछिल्लो 24 घण्टामा 1 हजार 741 वटा परीक्षण भएका छन्। अहिलेसम्म पीसीआर विधिबाट 16 हजार 309 र आरडीटी विधिबाट 55 हजार 930 जनाको कोरोना परीक्षण भएको छ। प्रदेश नम्बर 1 मा 7 हजार 55, प्रदेश नम्बर 2 मा 5 हजार 890 र बागमती प्रदेशमा मा 9 हजार 105 जनाको आरडीटी परीक्षण भएको छ। यस्तै गण्डकी प्रदेशमा 6 हजार 377, प्रदेश नम्बर 5 मा 6 हजार 638, कर्णाली प्रदेशमा 6 हजार 174 र सूदुरपश्चिममा 14 हजार 6 सय 91 आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।
अहिले देशभरी विभिन्न अस्पतालमा आइसोलेसनमा 143 जना उपचाररत रहेका छन्। उपत्यकामा 2 र बाहिर 141 जना संकास्पद विरामी उपचाररत रहेको उहाँले बताउनुभयो। देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टिनमा 14 हजार 5 सय 92 जना रहेका छन्।









































