काठमाडौं,14 सेप्टेम्बर 2020
अध्यागमन विभागले कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु गरेको छ। कोरोना संक्रमण जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा आइतबारबाट सुरु गरेको हो। विभागले सेवा सुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुलाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताउनुभयो। लक डाउनपछि पहिलो पटक असार १ गतेबाट भदौ ४ गतेसम्म सेवा सुचारु भएपनि निषेधाज्ञाका कारण केही समय स्थगित भएको थियो। विभागले पुनः आइतबार सेवा सुचारु गरेको उहाँले बताउनुभयो। भिसाको म्याद सकिएकाहरुको हकमा सेप्टेम्बर १५ (भदौ ३०) सम्म आफ्नो देश फर्किन समय दिइएको छ। सो समयमा फर्किएमा कुनै शुल्क लाग्ने छैन। तोकिएको समयमा पनि फर्किन नसकेमा डिसेम्बर १५ (मंसिर मसान्त) सम्म लागु रहने गरी हरेकले तीन डलर जरिवाना तिरेर बस्न सक्ने उहाँको भनाई छ। लक डाउन जारी भएपछि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सेवा भदौ १६ गतेबाट खुला भएको छ। उडान खुला भएसँगै नेपालमा लक डाउन निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकहरुको भिसा सहजिकरणका लागि सेवा सुचारु गरिएको विभागले जनाएको छ।









































