नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन दिदैनौँ : पोखरेल
काठमाडौं, 11 सेप्टेम्बर 2023
नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच आज (सोमबार) भेटवार्ता भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेका महासचिव पोखरेलको आज सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सो अवसरमा महासचिव पोखरेलले आफूहरु एक चीनको पक्षमा दृढ रहेको उल्लेख गर्दै चीनविरोधी गतिविधि नेपालको भूमिबाट हुन नदिने बताए ।
उनले एमाले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तरराष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको बताए।
उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भएका सहमति कार्यान्वयनको पक्षमा एमाले रहेको भनाइ राखे। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध घनिष्ठ र समुधुर रहेको उल्लेख गर्दै यस सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको बताए।









































