काठमाडौं, 30 दिसम्बर 2021
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग रहेको स्पष्ट पार्नुभएको छ । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताउनुभएको हो । उहाले आफुले क्यान र खेलाडी दुबै पक्षसँग छलफल गरेको र क्यानले कप्तान परिवर्तन नगर्ने बताएको जानकारी दिनुभयो । क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । उहाले आफ्नो ध्यान विश्वकप छनोटमा रहेको र छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने समेत बताउनुभयो । दुई चरणमा क्याम्प आयोजना गर्ने उहाको भनाई छ । प्रशिक्षक पुबुदुले छनोट अघि केहि सिरिजका लागि छलफल भएको समेत बताउनुभयो । मुख्य प्रशिक्षक दशानायकेले आफू दोस्रो पटक नेपाल आउन पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली युवा खेलाडीमा प्रतिभा रहेको भन्दै मुख्य प्रशिक्षक दशानायकेले अरु एसोसिएट देशमा यस्तो नदेखिएको टिप्पणी गर्नुभयो ।









































