नेपाल एयरलाइन्स भैरहवाबाट हङकङ र दिल्ली उडानको तयारीमा

काठमाडौं, 27 जुन 2023

नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। निगमले भैरहवाबाट हङकङ र दिल्ली उडानको तयारी गरिरहेको जनाएको छ। विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ ।

निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ । भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

नेपाल

उनले भने,  ‘भैरहवाबाट हङकङ उडानको तयारी गरेका छौँ, एक-दुई दिनमै टुंगो लाग्छ । नयाँदिल्लीसहित अन्य मुलुकमा पनि उडान विस्तार गर्ने योजना छ’।

निगम प्रवक्ता रमेश पौडेलका अनुसार दुई साताभित्र उडान सुरू गर्ने गरी तयारी भइरहेको छ। हाल सम्बन्धित निकायसँग उडान अनुमतिको काम भइरहेको उनले बताए। उडान अनुमति पाउनसाथ दुबै गन्तव्यमा उडान सुरू गर्ने निगमको तयारी छ।

हाल निगमको न्यारोवडी जहाजले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं सातामा एक उडान गरिरहेको छ।

‘मलेसियाबाट १२० जना यात्रु नेपाल आउँछन्। त्यसमा पनि ४० जनाभन्दा बढी यात्रु भैरहवामै ओर्लिन्छन्। थोरै यात्रु बोकेर काठमाडौं फर्कनुपर्छ,’ प्रवक्ता पौडेलले संचार माध्यमलाई भने, ‘यही उडानलाई काठमाडौं हुँदै अर्को अन्तर्राष्ट्रिय गन्तव्यमा जोड्न लागेका हौं।’

हाल निगमले भैरहवालाई ट्रान्जिट बनाएर हरेक मंगलबार काठमाडौं– मलेसिया–भैरहवा–काठमाडौं उडान गरिरहेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलयमान बनाउनका लागि निगमले पनि काठमाडौंबाट नियमित हुने यी तीनवटै गन्तव्यमा भैरहवालाई जोड्न लागेको उनी बताउँछन्।

नेपाल

सरकारले पनि यो विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई सेवा शुल्कहरूमा थप एक वर्षसम्म छुट दिएको छ। २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको यो विमानस्थलले सुरूआती एक वर्षसम्म अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायक सेवा र सुरक्षा जाँच शुल्कमा छुट दिएको थियो।

एक वर्षसम्म कुवेतको जजिरा एयरवेजले मात्र उडान गर्‍यो। थप वायुसेवालाई आकर्षित गराउन गौतमबुद्ध विमानस्थलमा २०८१ जेठ सम्मका लागि सम्पूर्ण शुल्कमा छुट दिएको हो।

हाल यो विमानस्थलमा नेपाल एयरलाइन्सले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। विमानस्थल सञ्चालनमा आएकै दिनदेखि व्यवसायिक उडान थालेको कुवेतको जजिरा एयरवेजले अहिले उडान रोकेको छ।

 नेपाल

विमानस्थल कार्यालयका अनुसार गत वैशाख ६ गतेदेखि जजिराले कमर्सियल कारण देखाउँदै उडान रोकेको थियो।

पर्यटकीय केन्द्र लुम्बिनीलाई लक्षित भए पनि आगामी दिनमा अन्तर्राष्ट्रिय उडान संख्या बढ्ने उनी बताउँछन्।

उनका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न मुलुकबाट अध्ययनका लागि आउनेजाने क्रम चलिरहेको छ। म्यानम्यार नेसनल एयरलाइन्सको टोलीले दुई दिने अध्ययन गरेर फर्किसकेको छ। म्यानमारसँगै भुटान, कम्बोडिया, थाइल्यान्ड लगायत मुलुकबाट पनि उडानका लागि अध्ययन गर्न निरन्तर आइरहेका छन्।

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. ‘दर्पण छायाँ २’ कलाकारले गरे इन्गेजमेन्ट
  2. जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

प्रतिक्रिया दिनुहोस् | Comments.....

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here