काठमाण्डौँ, 3 फरवरी 2020
नेपाल चिकित्सक संघको 28 औँ कार्यकारिणी समितिका लागि सोमबार पनि मतदान जारी छ। संघको केन्द्रीय कार्यालय काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा पाँच दिनका लागि मतदान तय भए अनुसार चौथो दिन सोमबार पनि मतदान जारी रहेको केन्द्रीय निर्वाचन अधिकृत डा. योभिनकुमार यादवले बताउनुभयो। यादवले दुई चरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यका बाहिरका 16 वटै शाखामा आईतबारनै मतदान सम्पन्न भइसकेको बताउनुभयो।

पहिलो चरणमा तीन दिनसम्म भएको मतदानमा कुल 2 हजार 8 सय 51 मत खसेको उहाँले जानकारी दिनुभयो। दोस्रो चरण अन्तर्गत उपत्यकामा भएको मतदानको तेस्रो दिन आइतबारसम्म 1 हजार 1 सय 61 मत खसेको उहाँले बताउनुभयो। संघको चुनावमा कुल 13 पदका लागि 2 प्यानल मैदानमा उत्रिएका छन्। लोकतान्त्रिक समूह तर्फ डा. लोचन कार्कीको समूह र प्रगतिशिल समूह तर्फ डा. पुष्पमणि खरालको समूह निर्वाचनमा होमिएका छन्। त्यस्तै महासचिवमा 2 जना र सदस्यमा 2 जना चिकित्सकले स्वतन्त्र उम्मेद्धवारी रहेको यादवले बताउनुभयो।

चिकित्सक संघमा कुल 9 हजार 9 सय 16 मतदाता रहेका छन्। मतदान सम्पन्न भएपछि मात्र मतगणना शुरु हुने यादवले जानकारी दिनुभयो। मतदान मंगलबार सम्म जारी रहने छ।









































