काठमाण्डौैँ, 12 फरवरी 2020
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले दज्र्यानी चिन्ह ग्रहण गर्नुभएको छ। बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइ.जी.पी.) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आई.जी.पी.-को दज्र्यानी चिन्ह लगाई दिनुभएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको 27 औँ महानिरीक्षकमा बढुवा गरेको थियो। आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट 30 वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइ.जी.पी.-मा बढुवा गरेको हो। यसअघि नायव महानिरीक्षक (डी.आई.जी.) रहेका ज्ञवाली प्रदेश 1 प्रहरी प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो।
दज्र्यानी चिन्ह ग्रहण पछि आई.जी.पी. ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शि तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारी प्रति पूर्णरुपमा जवाफदेही रहने र कुनै प्रकारको आक्रमण्यता, गैह्र व्यवसायीक आचरणलाई पूर्णतः निर्मुल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही गृह प्रसाशन मातहतको उत्कृष्ठ नमुना संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उहाँले जस्तोसुकै चुनौतिमा पनि उच्च व्यवसायीक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिवद्ध रहेको समेत बताउनुभयो। यससँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गर्नुभएको छ।









































