काठमाडौं, 12 मई 2022
नेपाल–भारत सीमानाका जमुनाहा यति वेला सुनसान छ । मंगलबार मध्यरातबाट बन्द भएको नेपाल भारत सिमानाका आवतजावतमा रोक लगाएपछि सुनसान देखिएको हो । नेपालमा शुक्रवार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । उहाँले नेपाल–भारत नाका ३० बैशाख गते राती १२ बजेपछि संचालनमा आउने बताउनुभयो । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सीमानाका बन्द हुने उहाँले बताउनुभयो । निर्वाचनलाई असर गर्ने मनसायले भारतबाट साना हतियार ओसार पसार हुन सक्ने सम्भावनालाई मध्यनजर गरि नाकामा कडाई गरिएको प्रशासनले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि बाँकेमा ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन । बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अति नै संबेदनशिल भएको र ३० मतदान केन्द्र संबेदनशिल रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरुप सुरक्षा प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।









































