काठमाण्डौ,25 मार्च 2020
कोविड-19 माहामारीका कारण पूरा विश्वनै प्रभावित भएका बेला नेपाल सरकारले विभिन्न देशमा रहेका आफ्ना नागरिकहरूबारे जानकारी लिएको छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विभिन्न देशमा रहेका नेपाली नियोगका प्रमुखहरूसँग नेपालीहरुको स्थिति र उनिहरुका लागि नियोगले गरेको कामबारे जानकारी लिनुभएको हो। परराष्ट्रमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत् मलेसिया, जापान, दक्षिण कोरिया, इजराइल र दक्षिण अफ्रिकामा रहेका नेपाली नियोग प्रमुखहरूसँग त्यहाँ कोविड-19 को प्रभाव र नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिनुभएको हो।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसमेत उपस्थित रहेको छलफलमा कोविड-19 को प्रभावका कारण ती देशमा नेपालीहरूको रोजगारीमा पर्न सक्ने सम्भावित प्रभावका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले खाडी मुलुकमा रहेका नेपालीहरूको बारेमा त्यहाँका नियोग प्रमुखहरूसँग समेत जानकारी लिनुभएको थियो।









































