परराष्ट्रमन्त्री साउद : नेपाल र अमेरिकाबिच निकै लामो र घनिष्ट सम्बन्ध
काठमाडौं, 31 अक्टोबर 2023
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपाल अमेरिकाको इन्डो प्यासिफिक क्षेत्रमा महत्त्वपूर्ण साझेदार रहेको बताएका छन् ।
अमेरिका पुगेका नेपालका परराष्ट्रमन्त्री एनपी साउदसँग द्धीपक्षीय भेटवार्तापछि गरेको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, ‘नेपाल आज इन्डो प्यासिफिक (क्षेत्र) मा निकै महत्त्वपूर्ण साझेदार हो ।’ अमेरिकाले प्रशान्त महासागर र हिन्द महासागरमा रहेको क्षेत्रलाई इन्डो प्यासिफिक नाम दिएर सहकार्य गर्दै आइरहेको छ ।
अमेरिकाले सन् २०१९ मा इन्डो-प्यासिफिक रणनीति निकालेको थियो । सन् २०१८ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिका भ्रमण गर्दा उक्त इन्डो प्यासिफिकको विषय उठेको थियो । तर उक्त रणनीतिमा तत्कालीन केपी ओली सरकारले नेपाल सामेल नहुने निर्णय गरेको थियो ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिका र नेपालबिच ७६ वर्षको कुटनीतिक सम्बन्ध रहेको उल्लेख पनि गरे । उनले भने,‘हामी एक स्वतन्त्र, खुला, सुरक्षित, समृद्ध क्षेत्र सुनिश्चित गर्न सँगै काम गरिरहेका छौं । र, धेरै तरिकामा नेपालले क्षेत्रीय मात्र नभई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय संस्थाहरूमा धेरै रचनात्मक रुपमा नेतृत्व गरिरहेको छ ।’
उनले नेपालले धेरै शान्ति सैनिकहरू पठाएर मानिसहरूलाई द्वन्द्वबाट विश्वभर शान्तिमा जान मद्दत गर्न प्रयास गरिरहेको पनि बताए । ‘हाम्रो जनता जनताबिचको सम्बन्ध, आर्थिक सम्बन्ध, लगानी लगायत कुराहरूबाट द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र अझ बलियो बनाउन काम गर्दैछौं,’ उनले भने ।









































