काठमाडौं, 3 अक्तूबर 2022
मनास्लु हिमालमा ज्यान गुमाएकी अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलरी नेल्सनको आइतवार बौद्ध परम्परा अनुसार काठमाण्डूमा अन्तिम संस्कार गरिएको छ। सहकर्मी आरोहीहरूले उनलाई सम्झँदै उनी एउटा पुस्ताका महिला पर्वतारोहीका लागि प्रेरणादायी व्यक्तित्व भएको बताएका छन्।सन् २०१२ मा हिलरी नेल्सन विश्वको सर्वोच्च शिखर सगरमाथा र त्यो नजिकै अवस्थित ८,५१६ मिटर अग्लो ल्होत्से हिमाल २४ घण्टाभित्र आरोहण गरेकी थिइन्। त्यसको ६ वर्षपछि उनी र उनका प्रेमी जिम मोरिसन उक्त हिमालबाट स्की गर्दै तल झर्ने पहिलो आरोही बनेका थिए।
सेप्टेम्बर २६ मा उक्त जोडी ८,६१३ मिटर अग्लो मनास्लु हिमालको चुचुरोबाट स्की गर्दै थिए। तर त्यही बेला एउटा हिम पहिरो गयो जसका कारण ४९ वर्षको उमेरमा हिलरीको निधन भयो।
उनलाई सम्मान व्यक्त गरिरहेका धेरैले उनी कुनै पनि पुरुष आरोहीको बराबरी रहेकी महिला आरोही रहेको बताएका छन्।
“उनी नाम चलेका पुरुष पर्वतारोहीहरू सहभागी हुने खालका साहसिक खेलमा सक्रिय थिइन्,” हिलरी नेल्सन र जिम मोरिसन मनास्लुको शिखर आरोहणका लागि निस्कनुअघि उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड डेभ वाट्सनले भने।
“उनको प्रयासले ‘पहिलो पुरुष’/’पहिलो महिला’ भन्ने विशेषणलाई मेटाइरहेको थियो, ‘पहिलो व्यक्ति’ भन्न थालिएको थियो।”
“उनी सफल पर्वतारोहण सम्बन्धी खेलकी सर्वाधिक सफल व्यक्ति थिइन् र उनले सुन्दर र प्रसन्न ढङ्गले आफ्ना गतिविधिहरू गरिन्। उनको प्रभावलाई कम आँक्न सकिँदैन।”
हिलरीको अन्तिम संस्कारमा सहभागी भएकी ३६ वर्षकी स्विडिस आरोही र साहसिक खेलाडी मारिया ग्रानबर्गले उनी उदाहरणीय व्यक्तित्व भएको बताइन्।
हिलरीलाई एक जना ‘जिज्ञासु, प्रतिवद्ध, दुर्लभ र कठिनाइको सामना गर्दै अघि बढेकी महिला’का रूपमा उनले चित्रित गरिन्।
ग्रानबर्गका अनुसार आफूहरू जस्ता महिलालाई उनी प्रेरणाको स्रोत थिइन्।









































