पर्सा, 15 मई 2020
पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो। सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गर्नुभएको छ। ‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ उहाँले भन्नुभयो।
गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा 2 जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए। प्रहरीले उनिहरूलाई सोही दिन पक्राउ गरेको थियो। उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो।
सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो। उक्त बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गर्नुभएको थियो।
बैठकमा नारायणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी रहनुभएको थियो।









































