पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुने गृहमन्त्रीको चेतावनी
काठमाडौं, 9 जुन 2023
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो। एमाले सांसद योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका थिए। वैधानिक तरिकाबाट कोशीको नाम फेरबदल गरिए एमालेलाई आपत्ति नहुने भट्टराईको भनाइ थियो। गृहमन्त्री श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमाले र सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण गराएपछि कोशीमा भइरहेका गतिविधिबारे आफूले सदनलाई जानकारी गराउनु उपयुक्त हुने बताए। कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको गृहमन्त्रीको भनाइ छ। बिहीबार इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुखमाथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको थियो।









































