पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय, सनिल नेपाल राजदूत सिफारिस
काठमाडौं,9 नोभेम्बर 2023
सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । युरोपियन देश पोर्चुगलमा रहने नेपालीको संख्या धेरै भएपनि हालसम्म दूतावास खुलेको थिएन ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै सनिल नेपालको नाम राजदूतमा सिफारिस गरेको सूचना समेत जारी गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषदले गरेको निर्णय सुनाउँदै सो कुराको जानकारी दिएकी हुन् ।
सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो
हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ ।
राज्यकोषबाट बर्सेनि अर्बौं खर्च गरेर खोलेका ती नियोगबाट उचित प्रतिफल लिन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारले पोर्चुगलमा पनि दूतावास खोलेर राजदूत नियुक्त गरेको हो ।