काठमाडौं, 10 नवम्बर 2021
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार परेको छठ पर्वको शुभकामना व्यक्त गर्दै सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गर्नु भएको छ । प्रचण्डले भन्नु भयो, ‘अझै पनि कोरोना भाइरस (कोभिड–१९) का कारण सहज रूपमा चाडपर्व मनाउने अवस्था छैन, ‘स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन सबैमा अपील छ ।’
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधता नेपालको विशेषता हो,’ प्रचण्डले छठ पर्व सबैको साझा भएको उल्लेख गर्दै नेपालमा विविधतापूर्ण मौलिक पहिचान भएको बताउनु भएको छ ।
नागरिकहरूबीच धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र ऐक्यबद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्ने प्रचण्डले स्मरण गराउनु भएको छ।









































