काठमाडौं, 19 अगस्त 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको पछिल्लो अनुभव नमिठो बन्दै गएको टिप्पणी गरेका छन्। योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। उनले जनयुद्धको बेलामा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुने गरेको भएपनि अहिले पद र सुविधाका लागि मात्र प्रतिस्पर्धा हुन थालेको बताए। ‘हिजो हामी जनयुद्धमा हुँदा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुन्थ्यो,’ प्रचण्डले भने, ‘कोही जान नपाएको खण्डमा हामी मर्न पनि जान नपाउने भने असन्तुष्टि हुन्थ्यो।’ तर, अहिले पद र सुविधाको लागि मात्र प्रतिस्पर्धा भएको प्रचण्डले बताए। ‘अहिले पद र सुविधाको निम्ति मात्र प्रतिस्पर्धा हुन्छ, संघर्षको निम्ति प्रतिस्पर्धा हुँदैन। आज भोलिको अनुभव अलिकति नमिठो बन्दै गएको छ।’ पार्टीभित्र देखिएको यस्तो विचलनको संकेत लाई चिर्न युवाहरुको भूमिका महत्वपूर्ण हुने प्रचण्डले बताए।









































