दिल्ली, 16 जुलाई 2022
भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भारतको ३ दिने भ्रमणमा रहेका प्रचण्डलाई विदेशमन्त्री जयशंकरले नयाँदिल्लीस्थित ताजमानसिंह होटेलमा भेटेका हुन् । प्रचण्डसँगको भेटबारे जानकारी दिँदै विदेशमन्त्री जयशंकरले लेखेका छन्, ‘भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका पुष्पकमल दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’दाहालले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको छ । स्वकीय सचिवहरू गंगा दाहाल र रमेश मल्लसँग भ्रमणमा गएका दाहाल आइतबार नै स्वदेश फर्कनेछन् ।









































