काठमाडौं, 10 जनवरी 2023
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति सत्तारुढ नेकपा एमालेले आशंका व्यक्त गरेको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संचार माध्यम लाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय स्वागतयोग्य भए पनि यसभित्र राजनीतिक दाउपेच लुकेको टिप्पणी गरे ।
‘कांग्रेसको निर्णयले सामान्यतया सरकारलाई समर्थनको दायरा फराकिलो भएको, यो हिसाबले हेर्दा सकारात्मक नै मान्नुपर्छ,’ ज्ञवालीले भने, ‘अर्कातर्फ यसभित्र एक खालको राजनीतिक दाउपेच पनि अन्तरनिहीत छ । एमाले र माओवादीमा असमझदारी बढाउन सकिन्छ कि भन्ने दाउपेच र सत्ताको अंगमा बार्गेनिङ गर्न खोजेको देखिन्छ ।’
उनले कांग्रेस प्रतिपक्षमा बस्न चाहेको भए उसले विश्वासको मत दिएको भनेर सत्ताको लाभ लिन नमिल्ने तर्क गरे।









































