काठमाडौं, 19 जनवरी 2023
प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद सुवास नेम्वाङले घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। सो प्रस्तावमाथि छलफल र निर्वाचन भएपछि घिमिरे निर्वाचित भएका हुन्। सभामुखमा निर्वाचित घिमिरेको पक्षमा १६७ मत आएको छ भने उनकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरेकी छिन्। मतदानमा २६८ सांसदहरु सहभागी थिए । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । प्रतिनिधिसभाका सांसदहरुको कुल संख्या २७५ हो।
सभामुख घिमिरे गत मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन।
घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष रवि लामिछाने थिए।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला थिए।
बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ–आफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि गरेका थिए।









































