HomeFeatureप्रतिनिधि सभामा सरकारको काम र रवैया प्रति सांसदहरुको समर्थन र विरोध

प्रतिनिधि सभामा सरकारको काम र रवैया प्रति सांसदहरुको समर्थन र विरोध

काठमाडौं, 31 मार्च 2021

नेकपा(एमाले) कि सचेतक शान्ता चौधरीले सरकारले गरेका कामहरुलाई दोषी आँखाले हेरिएको बताउनुभएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक चौधरीले सरकारले हालसम्म गरेका महत्वपूर्ण कामहरुलाई दोषी आँखाले हेरिने गरेको बताउनुभएको हो। सरकारले तीन दशकपछि मेलम्चीको पानी काठमाडौंमा झारेको, देशलाई सुरुङ मार्गमा प्रवेश गराएको, भूकम्प पछिको पुर्ननिर्माणका कामहरु भइरहेका तथा नयाँ-नयाँ विद्यालयहरु बनाउने लगायतका कामहरु सरकारले गरेको बताउनुभयो । सरकारले विद्रोही शक्तिलाई शान्तिपूर्ण राजनीतिमा प्रवेश गराई इतिहासमै ठुलो काम गरेको पनि बताउनुभयो। सरकारले देशलाई आत्मनिर्भर उन्मुख बनाउँदै लगेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो विद्रोही शक्तिलाई वार्ताको टेबुल मार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको छ सरकारले । विप्लव समूह, सिके राउतजस्ता विद्रोही समूहलाई शान्तिको बाटोमा ल्याएको छ यो सरकारले। मलाई लाग्छ यो सत्ता पक्षले मात्रै होईन, प्रतिपक्ष सबैले सरकारलाई यतिबेला खुलेर धन्यवाद दिनुको सट्टा अहिलेपनि सरकारले केही गरेन भनेर हामीले बिरोध गरिरहेका छौँ । त्यसकारणले म भन्दैछु कस्तो संस्कार हो हाम्रो ? कस्तो बुझाइ हो हाम्रो ? अब देशमा कुनै विद्रोही शक्ति हुने छैनन् । इतिहासमा यो सरकारले सबैभन्दा ठुलो काम गरेको छ ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले जनताले अहिले चुनाव नचाहेको बताउनुभयो । जनताले कोरोना र आर्थिक मन्दीबाट राहत चाहेको उहाँको भनाई छ । सांसद श्रेष्ठले बागलुङमा चैत्र १५ गते फागु पुर्णिमाको दिन युवाहरु बीच भएको झडपका क्रममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक परियारको हत्या भएकोमा आपत्ति प्रकट गर्दै दोषीलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गर्नुभयो। साथै उहाँले म्यानमारमा सैनिक सरकारले गरेको नरसंहार अमानवीय र निन्दनीय भन्दै म्यानमारको जनताको पक्षमा प्रष्ट रुपमा उभिएर अन्तर्राष्ट्रिय पहलकदमी लिन आवश्यक रहेको पनि बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ ल्याउने सपना कृष्णप्रसाद भट्टराईको भएको उल्लेख गर्दै उहाँले अहिले आउनु खुशीको विषय भएपनि मैले नै ल्याएको हुँ भन्ने हुङ्कार न्यायोचित नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो यो कसैको जस र अपजस भन्नुभन्दा पनि हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराईले जुन सपना देख्नुभएको थियो । काठमाडौं भ्यालीका जनता अत्यन्त काकाकुल अवस्थामा रहेको हामीलाई सर्वविदित नै छ । त्यो काकाकुल अवस्थाबाट कसरी काठमाडौंबासिलाई खानेपानी उपलब्ध गराउन सकिन्छ भनेर आजको तिस वर्ष पहिला उहाँले सपना देख्नुभयो । आज सबैले खानेपानी प्राप्त गरेको छ । यो सबैका लागि खुशीको विषय हो । तीस वर्ष पहिलाको जस लिने कि अहिले सरकारले धारामा पानी ल्याएको जस लिने ठुलो कुरो होइन । हिजो तीस वर्षमा गरेको काम अहिले मैले धारामा पानी झारे भनेर, मैले नै गरें भनेर यो हुङ्कार चाहीँ सदनमा कति न्यायोचित हुन्छ ?’

नेकपा(माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले सरकारले संविधानको सर्वोच्चता र विधिको शासनलाई पालना नगरेको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले संसदको पुर्नस्थापना गरेको तर सरकारको पुर्नस्थापना नगरेको भन्दै उहाँले सरकार कामचलाउ भएको टिप्पणी गर्नुभयो । संसदमा बिजनेशका लागि विभिन्न विधेयकहरु भएपनि सरकारले एजेण्डाको रुपमा नल्याएर संसदलाई पुनः भङ्ग गरेर मध्यावधि निर्वाचनमा धेकल्न खोजेको उहाँको बताउनुभयो । संविधानले तोकेको अवधि अगाडी हुने निर्वाचन सही अर्थमा निर्वाचन हुन नसक्ने पनि बताउनुभयो । सरकार संविधान समाप्त पार्ने दिशातिर उद्दत्त रहेको उहाँको आरोप छ । सर्वोच्च अदालतको नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) एकता खारेज गर्ने फैसलाले नेपालको दल सम्बन्धी स्वतन्त्रताको अधिकार हनन भएको र दलको अधिकार माथि हनन गर्ने प्रक्रियाको शुरुवात भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो नेपालको संविधानको दल सम्बन्धी स्वतन्त्रतामाथिको अधिकारलाई हनन गरेको देखिन्छ। दल खोल्न पाउने, विचार मिल्नेहरुको बीचमा दल खोल्न पाउने, स्थापना गर्न पाउने, गठन गर्न पाउने दलहरुको अधिकारको कुरा हो । तर त्यो दलहरुको अधिकारमाथि हनन गर्ने प्रक्रियाको सुरुवात भएको छ । यतिबेला दलीय स्वतन्त्रतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र जो मुलुकमा स्थापित भएको छ त्यसमाथि एकप्रकारले खड्गो पैदा भएको छ । सङ्कट पैदा भएको छ । यो सङ्कटका विरुद्धमा सबै सजग र सचेत रहेर जुध्नका लागि आग्रह गर्न चाहान्छु ।

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले म्यान्मारमा भएको नरसंहारका विरुद्ध र मानवअधिकार तथा लोकतन्त्रको पक्षमा सरकार र संसद बोल्नुपर्ने बताउनुभयो । यस्तै काठमाडौंमा देखिएको प्रदुषणका कारण सिर्जित समस्या समाधान गर्न केवल घरमा बसेर मात्रै नहुने भन्दै उहाँले प्रदुषण नियन्त्रणका लागि सरकारले वैज्ञानिक विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्याकाण्डका दोषिलाई सरकारले माफी दिन लागेको भन्दै टिकापुर हत्या काण्डलाई राजनीतिक मुद्दा बनाई माफी दिनु नहुने बताउनुभयो । संसद पुर्नस्थापना पछि संसदमा कुनैपनि पार्टीको स्पष्ट बहुमत नभएको सन्दर्भमा सरकारको बहुमत पुर्याउनको लागि रेशम चौधरी लगायतको रिहाइ गरिए कानून र न्यायको अवहेलना हुने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारत तर्फको खुल्ला सिमानाका कारण नेपालमा कोभिड–१९ को संक्रमण फैलन सक्ने भएकाले सिमानामा क्वारेन्टाइन तथा परिक्षणको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कोभिड–१९ संक्रमणबारे अघिल्लो वर्षबाट पाठ सिक्नुपर्ने उहाँको भनाई छ । कोभिड–१९ का विरुद्ध सत्तारुढ दलका कार्यकर्तालाई सीमामा स्वयंसेवकको रुपमा परिचालन गर्नुपर्ने पनि बताउनुभयो ।

सांसद सुवालले सरकारी अस्पतालमा अझैपनि राम्रो सेवा सुविधा नभएको टिप्पणी गर्नुभयो । सरकारी अस्पतालका चिकित्सक, आवश्यक उपकरणलाई पर्याप्त बनाइ गुणस्तरीय सेवा दिन सरकारको ध्यान नपुगेको उहाँको भनाई छ । प्रदुषणका कारण काठमाडौंमा स्वास्थ्य समस्या देखिएकाले काठमाडौंलाई रोगीको थलो बनाउन नदिन सरकारले ध्यान पुर्याउनुपर्ने सांसद सुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...