काठमाडौं, 26 अक्तूबर 2021
नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताउनुभएको हो । न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु यो विडम्बनाकोअवस्था भएको उहाले बताउनुभयो । आफ्नो पार्टीले भने प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे अहिले कुनै छलफल नै नगरेको उहाको भनाई छ । त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको अहिलेसम्म कांग्रेसले राजीनामा नमागेको स्पष्ट पार्नुभयो । उहाले न्यायालयको पूनःसंरचनाको कुरा उठाउनुको कारण भने प्रधानन्यायाधीशले मात्रै नभएर बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभयो । त्यस्तै नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पार्नुभयो । उहाले आजको अवस्थामा पुर्याउनको लागि कसले बाध्य बनायो यो मुख्य विषय भएको पनि टिप्पणी गर्नुभयो । संविधानलाई च्यातचुत गर्न र एमालेलाई सिध्याउन जेसुकै गर्ने काम यो बीचमा भएको उहाले बताउनुभयो ।









































