काठमाडौं, 11 अक्टूबर 2022
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ । प्रधानमन्त्री देउवाको नागरिकतामा उल्लेख भएको जन्ममिति र मतदाता नामावलीमा भएको जन्ममिति फरक परेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उम्मेदवारी खारेजीको माग गरेर हिजो सोमवार उजुरी दिनुभएको थियो । तर आज मंगलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीलाई खारेज गरेर देउवाको उम्मेदवारी कायम गरिदिएको छ । कार्यालयले देउवाको जन्ममिति नागरिकतामा उल्लेख भएअनुसार नै २००३ जेठ ३१ गते रहेको भन्दै मतदाता नामावलीमा गलत प्रिन्ट भएका कारण २००२ जेठ ३१ गते उल्लेख हुन पुगेको दाबी गरेको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो । डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले रातोपाटीसँग कुरा गर्दै नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको बताए । सो त्रुटि सामान्य रहेकोले उम्मेदवारी कायमै गर्ने निर्णय भएको जानकारी दिए । डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उनका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।









































