काठमाडौं, ३ मार्च, २०२०
दुई जना भारतीय चिकित्सक प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि नेपाल आउने भएका छन् ।
भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एक जना मंगलबार साँझसम्म नेपाल आइपुग्ने टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए ।उनका अनुसार मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्नेछन् ।ज्ञवाली नेतृत्वको टीमले प्रधानमन्त्री र शर्मा नेतृत्वको मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया गर्नेछ ।
प्रा डा ज्ञवालीको ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहनेछन् ।ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा अनन्तकुमारले नै गरेका थिए ।यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि सुरु गर्ने तयारी भएको छ ।बेलुका भारतीय चिकित्सक समेत आइपुगेपछि सबै चिकित्सकको टीम बसेर छलफल गरी अन्तिम निर्णय गरिनेछ ।









































