काठमाण्डौँ, 28 जनवरी 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिनुभएको छ। नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधि संस्था संसदको प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सफल कार्याकालयको हार्दिक बधाई र शुभकामना दिनुभएको हो। उहाँले संसदले पुरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद संचालनको गहन अभिभारा काँधमा आएको भन्दै सो अभिभारामा सफलता मिलोस् भन्ने कामना गर्नुभयो। उहाँले कानुन र नियम संगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारको सभा संचालनमा पूर्ण सहयोग रहने पनि प्रतिवद्धता जनाउनुभयो। सर्वसम्मति सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै उहाँले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने तथा समाजको पनि मेलमिलापयुक्त चरित्र बोकेकाले संघर्षका उपलब्धिको टुंगो पनि मेलमिलापयुक्त ढंगबाटै गर्नुपर्ने उल्लेख गर्नुभयो।
दलहरुबीचको एकता नभएको समयमा विभिन्न प्रतिगामी कदमहरु हुने गरेको विगतका घटना स्मरण गर्दै उहाँले एकबद्ध भएर मुलुकको एजेण्डा र विकासलाई शुसासन तर्फ केन्द्रीत गर्नुपर्ने जरुरी रहेको बताउनुभयो। कानुनको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको भन्दै आग्रह, पुर्वाग्रह र अनावश्यक बहसमा अल्झन नहुने टिप्पणी गर्नुभयो। विज्ञान, प्रविधि र कनेन्टीभिटीको दृष्टिमा दुनिया तिब्र गतिमा अगाडि बढेको त्यो गतिलाई समाउन नसक्ने हो भने समय खेर जाने भन्दै उहाँले विकासको गतिलाई समाउन सक्ने गरि अघि बढ्न सबैलाई आव्हान गर्नुभयो।
उहाँले केही दिनपछि आफुले आजको आवश्यकता र समसामयिक विषय बारे नेपाल सरकारको दृष्टिकोण राख्ने पनि जानकारी गराउनुभयो। उहाँले भ्रमण बर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपुर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताउनुभयो।









































