काठमाडौं, 10 जनवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन हृवीप नै जारी गरेका थिए । प्रतिनिधिसभामा २७५ सदस्य छन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् । प्रधानमन्त्री दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र तीन स्वतन्त्र सांसदले मत दिएका छन् भने नेकपा एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले सरकारमा सहभागी नभएपछि विश्वासको मत दिएका छन् । एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । दाहाल गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन् ।









































