प्रधानमन्त्री दाहाल : सरकार राहत र पुनर्निर्माणमा केन्द्रित भइसकेको छ
काठमाडौं,7 नोभेम्बर 2023
सरकारले जाजरकोट भूकम्पपछि उद्धार र उपचारसँगै अब राहत र पुनर्निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । उनले पहिलो चरणको खोज तथा उद्धारको काम सफलतापूर्वक सम्पन्न भएको र अब राहत र पुनर्निर्माणको कामलाई केन्द्रमा राखेर काम सुरू भइसकेको बताए ।
बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले राहत व्यवस्थापनका लागि विभिन्न ढंगले पहल भइरहेको बताए । ‘हिजो मात्र दुबै छिमेकी राष्ट्रका राजदूतहरुलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ, सकारात्मक कुरा भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘देशभित्र र बाहिरबाट पनि हामीलाई राहत व्यवस्थापनका लागि सहयोगका वचनहरू आएका छन्, यसलाई चुस्त व्यवस्थापनको लागि सरकारले कुनै कसर बाँकी राख्दैन ।’
प्रधानमन्त्री दाहालले यसपटक संकटको बेला एकैठाउँमा उभिने नेपाली संस्कार थप मजबुत भएर प्रस्तुत भएको बताएका थिए ।
कांग्रेसले प्रधानमन्त्री दाहाललाई राहत र पुनर्स्थापनाकालागि तत्कालीन र दीर्घकालीन समेत गरी २१ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री दाहालले विपद् पूर्वतयारी र व्यवस्थापनकालागि देशभरि स्थानीय तहमा कम्तिमा एउटा प्रकोप पूर्वतयारी स्टोर आवश्यक पर्ने अनुभूति गरेको बताएका थिए ।









































