काठमाण्डौ, 22 जुलाई 2021
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेट गरेका छन्। बिहीबार प्रधानमन्त्री देउवालाई बधाई दिन राजदूत युताका सरकारी निवास बालुवाटार पुगेका हुन्। उक्त भेटमा जापानले उपलब्ध गराउने भनेको १६ लाख काेराेनाविरुद्धकाे खाेपकाे डोज केही दिनमै नेपाल आइपुग्ने जानकारी राजदूत युताकाले दिएका छन्। जापानले कोभ्याक कार्यक्रम अन्तर्गत नेपाललाई कोराेनाविरुद्धको खोप एस्ट्राजेनेकाे १६ लाख डोज दिने घोषणा गरेको थियो। जापानले उपलब्ध गराउने उक्त खोप केही दिनमै आइपुग्ने जानकारी दिँदै देउवाले जापानबाटै थप खोप प्राप्त हुने विश्वास पनि लिएका छन्। जापानले दिन लागेको १६ लाख डोज खोप चाँडै काठमाडौं आइपुग्ने छ। यो राम्रो समाचारका लागि धन्यवाद। आगामी दिनमा थप खोप उपलब्ध गराउन आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन्। यसअघि चिनियाँ राजदूत होउ यान्छीले पनि प्रधानमन्त्री देउवालाई १६ लाख डोज खोप उपलब्ध गराउने आश्वासन दिएकी थिइन्।









































