काठमाडौं, 4 अक्तूबर 2021
प्रहरीले सवारी साधनमा पाकेटमारी र चोरी गर्ने २०७ जना व्यक्ति पक्राउ गरेको छ । सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई काठमाडौ प्रहरी परिसरले काठमाडौंबाट विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको परिसरले जनाएको छ । पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई कारागार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले जानकारी दिनुभयो । उहाले सार्वजनिक सवारीमा पाकेटमारी र चोरी गर्नेले कोड भाषा प्रयोग गर्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले चाडवाडमा हुने अपराधीक घटनालाई निरुत्साहित गरिने बताउनुभयो । उहाले अहिले सरकारले सार्वजनिक सवारीको भाडा समायोजन हुनुपर्ने, बिभिन्न स्थानका सडक मर्मत गर्नुपर्ने बताउनुभयो । महासंघले तोके भन्दा भाडा लिनेलाई कारवाही गर्न आफुले सहयोग गर्ने उहाको भनाई छ । काठमाडौ प्रहरी परिसरले चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई निरुत्साहित गर्न ३० हजार घरमा जनचेतनामुलक कार्यक्रम पनि गरिएको जनाएको छ ।









































