काठमाण्डौ, 18 अगस्त 2021
नेकपा एमाले विभाजित भएर नयाँ दल नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । नयाँ पार्टीको चुनाव चिह्न खुला किताब राखिएको छ । करिब सात महिना लामो विवादपछि अन्ततः प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएको हो । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ गठन भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले विभाजित भएको हो । अध्यादेशमा पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने उल्लेख छ । अध्यादेशसँगै पार्टी फुटाउन सहज भएपछि नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोग पुगेको हो ।









































