काठमाडौं, ८ फरवरी, २०२०
नेपाल भ्रमणमा बङगलादेशका सेना प्रमुख जनरल अजिज अहमद काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा अहमद काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका उपरथी निर्मल कुमार थापाले स्वागत गरे । भ्रमणका क्रममा अहमदले शनिबार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्ने कार्यक्रम छ। त्यस्तै जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मान गर्नेछ ।
आइतबार प्रधानमन्त्री केपीशर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनको भेटवार्ता गर्ने कार्यक्रम छ ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भेटवार्ता हुनेछ सोही दिन नेपाली सेनाको पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत उनले भ्रमण गर्ने कार्यक्रम छ। पाँच दिने औपचारिक भ्रमण पुरा गरी मंगलबार उनी स्वदेश फिर्ता हुनेछन्।









































