काठमाडौं, ७ फरवरी, २०२०
नेपाल प्रहरीको टोलीले तपस्वी राम बहादुर बमजनलाई पक्रन शुक्रवार बिहान प्रहरी उनको सिन्धुली स्थित आश्रम पुगेको छ ।
प्रहरी आउने सुइको पाएका बमजन प्रहरी नपुग्दै आश्रम छोडिसकेका थिए । हत्या, हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरीको जंगलमा खोजेपनि भेटाएको भने छैन। आश्रमस्थित उनी बस्ने मूल घरमा ताला लागेको प्रहरी स्रोतले बतायो ।
सिन्धुली जिल्ला अदालतबाट बिहीवारै बमजन पक्राउको अनुमति लिइएको थियो। उनिमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी,एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।
आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनका आश्रमबाट बेपत्ता पारिएका छन्। त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुली स्थित आश्रमबाट बेपत्ता छन् ।









































