काठमाडौं, 16 फरवरी 2022
नेकपा एमालेका नेता तथा सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी एक शिक्षिकाले पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित एक होटलमा जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो। महिलाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए। ‘पीडित महिलाको जाहेरीका आधारमा बानियाँविरूद्ध सोमबार नै पक्राउ पुर्जी जारी गरेका हौं,’ डिएसपी न्यौपानेले भने,‘ आरोपित बानियाँको खोजी कार्य जारी छ।’
ती शिक्षिकाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्री समेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफैं प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन छन्। यसअघि एमाले नेता बानियाँले आफू निर्दोष रहेको तथा आफूलाई फसाउने षड्यन्त्र भइरहेको दाबी गरेका थिए।
उनले ती महिलाले आफूलाई पैसाको बार्गेनिङ गरेर मुद्दा लगाई फसाउने खोजेको आरोप बानियाँले लगाएका थिए। पीडित शिक्षिकाले दिएको जाहेरीमा आफूले सापटी दिएको 25 लाख रुपैयाँ लिन होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको उल्लेख छ।









































