काठमाडौं, 25 मई 2022
नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्यहरुले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कांग्रेसका महिला केन्द्रीय सदस्यहरुले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था रहेकाले हदम्याद बढाउन ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् । साथै उनीहरुले आगामी बजेट महिला मैत्री र संविधान प्रद्धत मौलिक हक र अधिकारलाई सुनिश्चित गर्न पनि ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्न, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन गर्न समेत ध्यानाकर्षण गराइएको बताउनुभयो । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको मूल्य पनि बढेको र यसको असर आम उपभोक्तामा पदार्थमा परिरहेको भन्दै पेट्रोलियम पदार्थ लगाएत उपभोग्य बस्तुको मूल्य घटाई जनजीवनलाई सहज बनाउन आग्रह गरेका छन् ।









































