काठमाण्डौ, 21 अगस्त 2021
उपचारका लागि बसमा यात्रा गरिरहेकी आमाको निधन भएपछि ३२ महिनाको छोरालाई आमाकै काखमा राखेर फकाउन खोजिएको भावुक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ बटला (सुन्दरपानी) बाट नेपालगञ्ज २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेकी थिइन् ।आफूहरु बसमा चढेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै धर्माकुमारीले श्रीमान दलबहादुरलाई जानकारी गराउँदै थिइन् ।बसका यात्रुहरुका अनुसार उनी सामान्य तवरले यात्रा गरिरहेकी थिइन् ।केही समयपछि बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला सिटबाट तल खसेर रोएको यात्रुले देखे ।अन्य यात्रुहरुले धर्माकुमारीलाई उठाउन खोजे । तर उनी बसको सिटमै कहिलै नउठ्ने गरि चीर निन्द्रामा सुतिसकेकी थिइन् ।मुटुका बिरामी रहेकी धर्माकुमारीको त्यो अवस्थाले बसमा यात्रारत सबै यात्रुहरु दुःखी र निराश बने । कतिले नजिकैको अस्पताल लैजान भने तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्याउने सबैले सल्लाह गरे ।उनकै गाउँकै अर्की एक महिलाले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन् ।रोइरहेको बच्चालाई बसका यात्रुहरुले पालैपालो समातेर फकाउने काशिश गरे ।उता नेपालगञ्जमा शुक्रबार बिहान श्रीमतीलाई सकुशल स्वागत गर्न प्रतिक्षा गरिरहेका श्रीमान दलबहादुर श्रीमतीको त्यो खबर सुन्दा छाँगाबाट खसेझैँ भए ।तर दलबहादुर विहान पौने ६ बजेतिर गाडी लगेर बस आउने ठाउँ कोहलपुरको दश बिगाहा पुगे ।रोइरहेको छोरा बुवा देखेर अलि शान्त बन्यो । त्यसपछि अझै आश राख्दै दलबहादुरले स्थानीय नर्सिङ होमका स्टाफलाई बोलाएर श्रीमतीको चेक गराए । तर सम्भावना नभएपछि नेपालगञ्ज भेरी अस्पताल पुर्याए ।दलबहादुरले निधन भइसके पनि श्रीमतीलाई आइसीयूमा राखेर माइती पक्षलाई पर्खिए ।उता आमाको बसमै मृत्युपछि छोरा किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुले आमाको काखमा राखेको भावुक फोटो सयौँ प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको छ ।









































