काठमाडौं, 28 फरवरी 2022
नयाँ बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको प्रेसर कुकर सेनाको टोलीले निष्क्रिय पारेको छ । सोमबार संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद प्रेसर कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि आवागमन निषेध गरेर नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो । तारले बेरेको अवस्थामा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएपछि बम भएको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो। उक्त शंकास्पद कुकरभित्र बम नभई इटाँ र प्लास्टिकको टुक्राहरु मात्र रहेको सेनाले जानकारी दिएको छ । उक्त शंकास्पद वस्तु फेला परेपछि त्यस क्षेत्रमा सवारी आवागनममा ट्राफिक प्रहरीले रोकेको थियो। उक्त वस्तु निष्क्रिय पारेसँग यातायातका साधन सञ्चालनमा आएको छ। त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ । एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आव्हन गरेका छन् । त्यही क्रममा मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।









































