काठमाडौं, 29 दिसम्बर 2022
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी रहेका छन् ।मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । आजको बैठकमा सबै सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् । पहिलो चरणमा केन्द्रमा प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ भने प्रदेशहरुमा सरकार गठनको तयारी भइरहेको छ ।









































