दार्जीलिङ, 6 जनवरी 2020, कयेश अंसारी
बिनय तामाङ खेमाको गोर्खा जनमुक्ति मोर्चाले दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी र प्राध्यापकहरुमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै गोजमुमोका अध्यक्ष विनय तामाङले राष्ट्रीय राजधानीमा भएको यस घटनालाई दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । मोर्चाले प्रतिष्ठीत शैक्षिक संस्थान जेएनयुमा भएको सो घटना राजनीतिक रुपमा प्रेरित भएको बताएको छ । दिल्लीमा पुलिस गृह मन्त्रालय अन्तरगत रहेकाले यस्ता प्रतिष्ठीत संस्थानको सुरक्षा सँधै प्रथमिकतामा हुनुपर्ने मोर्चाको भनाई छ । मोर्चा अध्यक्ष तामाङले घटनामा शामेल व्यक्तिहरुलाई पक्राउ गरि उनिहरुमाथि कडा कारवाही हुनुपर्ने माग पनि गर्नुभयो । बीजेपीले जेएनयुमा भइरहेको CAA, NRC र NPR विरुद्धका प्रदर्शनलाई दबाउने प्रयास गरेको तर जनताको आवाज नदब्ने मोर्चाले भनेको छ । गुजरातको गोधरा काण्ड जस्तै देशको शान्ति र एकतालाई भाड्ने प्रयास भइरहेको मोर्चा अध्यक्ष तामाङले भन्नुभयो । उहाँले जेएनयुमा अध्ययनरत सबै गोर्खा विद्यार्थीहरुलाई सुरक्षा प्रदान गर्न गृहमन्त्रीलाई अपील समेत गर्नुभएको छ । घटनापछि पहाडका विद्यार्थी र उनिहरुका आमा-बुवाहरुले असुरक्षीत महसुस गरेको भन्दै गृहमन्त्रीलाई यस्तो आग्रह गरेको बताउनुभयो ।









































