काठमाडौं, 22 सितम्बर 2021
नेकपा माओवादी केन्द्रले बिहिबारसम्म पार्टीबाट मन्त्रीमण्डलमा सहभागीहुनेको नाम टुङ्गो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबारसम्म राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा टुङ्गो लाग्ने र मन्त्रिपरिषद् बिस्तार हुने ब्रिफिङ गरेपछि माओवादीले मन्त्रीमण्डलमा सहभागी हुनेको नाम टुङ्गो लगाउन लागेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार बिहीबार हुने र माओवादी तर्फबाट सरकारमा सहभागी हुनेको नाम पनि टुङ्गो लाग्ने बताउनुभयो । बैठकमा प्रचण्डले अध्यादेशको कारणले मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको बताउनुभएको महराले जानकारी दिनुभयो । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भइरहेको महराले बताउनुभयो । त्यस्तै बैठकले माओवादीको प्रवास समितिले बनाएको निर्देशिकालाई समेत अनुमोदन गरेको छ । निर्देशिकामा ६ वटा उपक्षेत्र बनाएर पार्टीले काम गर्ने उल्लेख गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो । त्यस्तै बैठकले डोर प्रसाद पौडेललाई पार्टी कार्यालयमा नियुक्त गर्ने निर्णय पनि गरेको महराले बताउनुभयो ।









































