काठमाण्डौँ, 7 फरवरी 2020
अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले सेवाको गुणस्तर र पहुँचमा ध्यान दिनुपर्ने बताउनुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित ‘इन्स्योरेन्स समिट 2020’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन आग्रह गर्नुभएको हो। उहाँले बीमा कम्पनीहरुको संख्या धेरै भएकाले मर्जमा जान समेत सुझाव दिनुभयो। बजारमा प्रतिस्प्रधा बिना नै बीमा प्रिमियम तोक्दा बीमाको दर उच्च रहेको बताउँदै त्यसमा सुधार गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो। अर्थमन्त्री खतिवडाले बीमा बजारमा माइक्रो इन्स्योरेन्स पोलिसिहरुको आवश्यकता रहेको र त्यसमा बीमा कम्पनीहरुलाई सोच्न समेत आग्रह गर्नुभयो। उहाँले सरकारले माइक्रो इन्स्योरेन्स कम्पनी ल्याउने योजना बनाएको समेत बताउनुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको मात्र सुरक्षा गर्ने नीति ल्याएको तर कसरी बजार विस्तार गर्न सकिन्छ भन्नेमा ध्यान नदिएको बताउनुभयो। उहाँले बीमा समितिले इन्स्योरेन्सको न्यूनतम दर तोक्दा इन्स्योरेन्स प्रिमियम बढेको बताउनुभयो। अन्य मुलुकमा खुल्ला बजार अर्थतन्त्र अनुसार बजारले इन्स्योरेन्सको दर आफै तोक्ने अथवा अधिकतम दर तोकी बजारमा प्रतिस्प्रधाको बाटो खुल्ला राख्ने गरिन्छ तर नेपालमा न्यूनतम दर तोकेर प्रिमियम बढाइएको बताउनुभयो।
बीमा कम्पनीको संख्या धेरै भएपनि प्रतिस्प्रधा नहुँदा सस्तो र गुणस्तरिय बीमा सेवाको विकास हुन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताउनुभयो। उहाँले इन्स्योरेन्स प्रिमियम उच्च हुँदा कस्ट अफ डुइङ बिजनेस बढेको समेत बताउनुभयो।









































