काठमाडौं, 3 नवम्बर 2021
बेलायतमा प्रधानमन्त्री शेरबहादुर देउवा र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। मंगलबार ग्लास्गोमा संयुक्तराष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुन बेलायत पुगेका दुई समकक्षीबीच साइडलाइन बैठकअन्तर्गत भेट भएको हो। देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएको थियो। देउवाले प्रधानमन्त्रीको जिम्मेवारी समालेपछि दुई समकक्षीबीच भएको यो पहिलो भेट हो। झन्डै एक सातासम्म कुनै प्रतिक्रिया नजनाएका मोदीले देउवाले संसद्बाट विश्वासको मत लिएपछि मात्र शुभकामना दिनु भएको थियो। देउवालाई छिमेकी देशका समकक्षीसँग भेट्ने अवसर जलवायु सम्मेलनमा मिल्यो। भेटमा कोभिड–१९ विरुद्ध साझा प्रयास, जलवायु परिवर्तनका असर न्यून गर्न संयुक्त रूपमा काम गर्नेलगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा फलदायी कुराकानी भएको भारतीय प्रधानमन्त्री मोदीले बताउनु भएको छ। नेपाल–भारत सम्बन्धलाई दुई नेताबीच थप मजबुत बनाउने सहमतिसहित विविध विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ट्विटरमार्फत जनाए। भेटमा कोरोना महामारीका बेला भारतले नेपाललाई खोप, औषधि तथा अन्य स्वास्थ्य सामग्री दिएर सहयोग गरेको विषयमा पनि कुराकानी भएको थियो। भारतीय प्रधानमन्त्री मोदीसँग मंगलबार बिहान साइडलाइन भेट गरेका प्रधानमन्त्री देउवाले त्यसपछि श्रीलंकाकाराष्ट्रपति गोटावयराजापक्षसँग पनि भेट गरेका छन्। भेटमा दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।









































