दार्जीलिङ, 31 जनवरी 2020/ कयेश अंसारी
अल इन्डिया बैंक हड्तालका कारण भारतमा बैंक र एटीएमहरू तीन दिन बन्द रहँदा पर्यटकीय क्षेत्र दार्जीलिङमा पनि समस्या उत्पन्न भएको छ। बैंक तथा एटीएमहरू शुक्रबार, शनिबार र आईतबार तीन दिन हडतालमा जाँदा पर्यटकलगायत स्थानीयहरूले सास्ति खेप्नु परेको छ। यद्यपि आज बिहानसम्म दार्जीलिङ पहाडमा एटीएमहरू खुल्ला भएपनि कार्यालय समयमा सरकारी बैंकका अधिकारीहरूले एटीएम बन्द गराई हडतालका पम्पलेटहरू टाँसेका थिए। दार्जीलिङ पर्यटकीय स्थल भएका कारण बाह्य पर्यटकहरू र स्वास्थ्य उपचारका लागि ग्रामीण क्षेत्रबाट सहर आएका स्थानीयहरूले समेत पैसा निकाल्न नपाउँदा ठूलो समस्या खेप्नु परेको छ।
हाम्रा दार्जीलिङ्ग संवाददाता कयेश अन्सारीले बताएअनुसार पहाडका पसलहरूमा थोरै मात्रामा स्वाइप मसिनहरू हुने भएकाले मानिसहरूलाई किनमेल गर्न पनि नगदको आवश्यकता पर्ने गर्दछ। यस अवस्थामा एटीएम र बैंकहरू बन्द भइदिँदा पहाडमा ठूलो समस्या उत्पन्न भएको हो। यद्यपि डाक कार्यालयमा रहेको एटीएम मसिन खुल्ला रहेपनि स्थानीय र पर्यटकहरूको लामो लाईन लागेको कारण एकै व्यक्तिको पालो आउन पनि घण्टौँ बेर लाग्ने गरेको छ। पर्यटक र स्थानीयहरूले बैंकहरूले हडतालमा जाने कुरा दुई दिन अगाडी थाहा पाएको भएपनि एटीएम बन्द हुने जानकारी नभएकाले नगदको समस्या भएको बताएका छन्।
अर्कोतर्फ बैंक र एटीएमकै भरोसामा दार्जीलिङ पहाड घुम्न आएका पर्यटकहरूले अचानक हडतालको सामना गर्दा नगदको अभावमा फर्किनु परेको बाध्यता सुनाएका छन्।









































