बैतडी, 11 फरवरी 2020/ हिम शाह
फ्रान्सेली नागरिक डा. बर्नाड जेफले व्यक्तिगत लगानीमा बैतडीमा पहिलोपटक सघन उपचार कक्ष (आइ.सी.यु.) सहितको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउनुभएको छ। दशरथचन्द नगरपालिका 4 स्थित शाहीलेक बजारमा सोमबारदेखि ‘निको शक्ति अस्पताल’ सञ्चालनमा आएको हो।
निजी लगानीमा स्थापना भएको उक्त अस्पतालमा आईसीयु-सहित वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने जनाईएको छ। जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट र दशरथ चन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्त रुपमा अस्पताल उद्घाटन गर्नुभएको हो।
बैतडीको शाहीलेकमा सञ्चालनमा आएको अस्पतालमा न्यूतम शुल्कमा गुणस्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाइएको छ। आइसीयूसहित 25 शैय्या सञ्चालन अनुमति पाएको अस्पतालले तत्काल 15 शैय्याबाट सेवा सुरू गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र खत्रीले जानकारी दिनुभयो। अस्पतालले जनरल सेवाका साथै सर्जरी लगायतका सेवा पनि प्रदान गर्ने जनाएको छ।
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको हो। उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख भट्टले निको शक्ति अस्पतालले बैतडी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभयो।
यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख थापाले उपचार गर्नकै लागि भारत तथा अन्य जिल्लाका अस्पतालले जानुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गर्नुभयो।









































