काठमाण्डौँ, 29 अप्रेल
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले बैशाख 25 गतेपछि पनि लकडाउनले निरन्तरता पाए अटो मोबाइल्स क्षेत्र धारासायी अवस्थामा पुग्ने बताएको छ। करिब 2 महिनादेखि व्यापार ठप्प रहेको अवस्थामा ठूलो आर्थिक क्षति भइसकेको र अव पनि लकडाउनले निरन्तरता पाए झनै समस्या बढ्ने नाडाले बताएको छ। नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले 2 महिनादेखि उद्योग व्यवसाय र प्रतिस्ठानहरु बन्द रहेको र खर्चमा कुनै कटौति नभएको अवस्थामा व्यापार व्यवसायलाई अगाडि बढाउन नपाए समस्या बढ्दै जाने बताउनुभयो। उहाँले अहिले पनि कर्मचारीको तलब पूर्ण रुपमा दिन नसक्ने अवस्था आइसकेकोले उद्योग वाणिज्य महासंघले दिएको सुझाव अनुसार लकडाउन अवधिको तलब 50 प्रतिशत मात्रै दिने व्यवस्था गराउन सरकारसँग आग्रह समेत गर्नुभयो। यस्तै नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर 2 प्रतिशतले घटाउनु सकारात्मक कदम भएको र बैंकहरुले पनि त्यसमा अझ केही कम गर्ने गरी व्यवस्था गर्न बैंकहरुलाई सुझाव समेत दिनुभयो। यसबाहेक आगामि असार मसान्तसम्मको ब्याज तिर्ने समय थप 6 महिना दिनुपर्ने मागसमेत उहाँले गर्नुभयो। अध्यक्ष दुलालले सरकारले भ्याट विवरण बुझाउने समय थप गर्नुपर्ने, कर बुझाउने अन्तिम समय पनि पुस मसान्त सम्म पुऱ्याउनु पर्ने लगायतका व्यवस्था गर्न समेत माग गर्नुभयो।
यसबाहेक भन्सार परिसरमा रोकिएर बसेका सवारी साधनको शुल्क मिनाह गर्न एवम् कन्टेनरको डिटेन्सन चार्ज पनि मिनाह गर्न अध्यक्ष दुलाले माग गर्नुभयो। उहाँले लकडाउनपछि कसरी व्यवसाय सुरक्षित तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा नाडाले सुरक्षा प्रबन्ध अवधारण गाइड ल्याउन लागेको समेत बताउनुभयो। उहाँले व्यापार व्यवसाय र उद्योग प्रतिस्ठानहरु सञ्चालनमा नआए देशको अर्थतन्त्रमा ठूलो क्षति हुने भएकाले बैशाख 25 गतेपछि जसरीपनि लकडाउन खुलाउने व्यवस्था गर्न माग गर्नुभयो।









































