काठमाडौं, 21 जनवरी 2023
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसपटकको निर्वाचनमा मान्छेहरूले बोली मन पर्यो भनेर घण्टीमा भोट हालेको बताएका छन् । उनले जनताले विगतमा लामो संघर्ष र योगदान गरेका दललाई बेवास्ता गरेर गफ गरेको भरमा नयाँ दललाई मत दिएको बताए । नेकपा एस रौतहट काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कार्यकर्ताहरूलाई पार्टीको मार्गदर्शन, नीति र विचारका विषयमा जनतालाई बुझाउन निर्देशन दिए । ‘रौतहटमा तपाईहरूले मलाई निर्वाचित गर्नुभयो । तर, समानुपातिकमा त्यसैगरि मत खसेको छैन । मान्छेले बोली मन पर्यो भनेर घण्टीमा भोट हालेका छन्, काम हेरेका छैनन्,’ उनले भनेका छन् । उनले प्रत्यक्षमा आफ्नो दललाई मत दिएपनि समानुपातिकमा मान्छेहरूले भाषण सुनेको भरमा घण्टामा मत दिँदा पार्टीले थ्रेसहोल्ड कटाउन नसकेको गुनासो गरे ।
‘हामीले गरेको काम र बाटोको विषयमा हामीलाई जनतालाई बुझाउन सकेका छैनौँ । हाम्रै साथीहरूले समानुपातिकमा घण्टी भनेर प्रचार गरेको सुनियो । त्यहीकारण हामीले समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेनौँ,’ उनले भने, ‘हामीले जति मत पायौँ, त्यो चित्त बुझ्दो छैन । मेहिनेत पुगेको छैन ।’









































